प्रतिबन्ध लगाएको ६ दिन बित्दापनि कुनै निर्णय आएन

काठमाडौं, ३० कार्तिक । प्रतिबन्धित भारु साट्न उच्चस्तरीय पहल सुरु भएको छ ।

प्रतिबन्धित पाँच र हजारका नोट सटहीमा भारतीलाई दिइएको सुविधा नेपालीलाई पनि दिलाउन नेपालका कार्यकारी प्रमुखबाटै पहल सुरु भएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थ मन्त्री कृष्णवहादुर महराले भारतीय समकक्षी नरेन्द्र मोदी र अरुण जेट्लीलाई फोन गरेर भारतीय सरहकै सुविधा दिएर नोट साटिदिन आग्रह गरेका हुन् ।

फोनवार्तामा भारतीय समकक्षीबाट हाल उब्जिएको समस्या समाधान गर्न भारत सरकार प्रयत्नशील रहेको जानकारी दिइएको थियो । भारत सरकारले यसको निकाश चाँडै दिने बचन दिएको छ । सर्वसाधरण तथा व्यापारीसँग भएको अर्बौं भारुसमेत साट्ने व्यवस्था मिलाउन सरकारी तहबाटै समाधानको पहल गरिएको हो । नेपाल पक्षले भारतीय पक्षलाई पठाएको औपचारिक पत्र भारतको अर्थ मन्त्रालयमा पुगिसकेको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग सरकारी स्तरबाटै प्रयास थाल्न आग्रह गरेका थिए । सोही अनुरुप सरकारले बैंकिङ च्यानलमा भएको साढे तीन करोड र प्रत्येक नेपालीले बोक्न र राख्न पाउने २५ हजार भारु जसरी पनि सोही दरमा साट्नु पर्ने भन्दै विशेष व्यक्तिबाट विशेष पहल सुरु गरेको गरिएको हो ।

यस अघि नेपाल राष्ट्र बैंकले भारतीय रिर्जभ बैंक (आरबीआई) सँग र परराष्ट्र मन्त्रालयबाट पनि विशेष कुटनीतिक पहल गरिएको थियो । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले नोट प्रतिबन्ध लगाएको ६ दिन वित्तिसक्दा पनि भारतबाट कुनै ठोस निर्णय नआएको बताए ।

‘सोमबार देशकै कार्यकारी प्रमुखबाट पहल भएपछि अब छिट्टै सकारात्मक सूचना आउनेमा हामी विश्वस्त छौं,’ उनले भने ‘भोलि मंगलबार नोट सटहीको विषयमा विशेष सूचना आउनेछ ।’ भारतले गत मंगलबार पाँच सय र एक हजार दरका नोटमाथि प्रतिबन्ध लगाएको थियो ।

YOUR REACTION?

Facebook Conversations