तीनकुने देखि केही भित्र पूर्वमन्त्री लालबाबु पण्डितको डेरा रहेछ, एक घरको ग्राउण्ड फ्लोरमा । गेटबाट भित्र पस्दा पस्दैका तीन कोठा उनीहरुका रहेछन् । कोठा पनि नाम मात्रका । एउटा कोठामा एउटा पलङ मात्र अटाएको, किचेन पनि खाना बनाउने मान्छे समेत सजिलै हिंड्न नमिल्ने खालको ।

तीनकुने देखि केही भित्र पूर्वमन्त्री लालबाबु पण्डितको डेरा रहेछ, एक घरको ग्राउण्ड फ्लोरमा । गेटबाट भित्र पस्दा पस्दैका तीन कोठा उनीहरुका रहेछन् । कोठा पनि नाम मात्रका । एउटा कोठामा एउटा पलङ मात्र अटाएको, किचेन पनि खाना बनाउने मान्छे समेत सजिलै हिंड्न नमिल्ने खालको । अर्को एक कोठामा मुस्किलले सुत्न मिल्ने एउटा खाट, जसमा पुरानो तर सुकिलो तन्ना ओच्छ्याइएको थियो । त्यसैको छेउको टेवलमा एउटा कम्प्युटर र कम्प्युटरको दुईतिर दराज र र्याक जसमा सम्मानपत्र र किताब कोचि कोचि राखिएको छ । भुइँमा कार्पेट होइन पुरानो मोडलको राडी ओछ्याइएको छ । कोठामा सामान नअटाएर खाँदी खाँदी राखिएको छ । बचेको खाली भागमा पनि प्लास्टिकका चारवटा कुर्सी र प्लास्टिककै टेबुल छन् ।

टेबुलको एक छेउमा दुईसेट मोबाइल हातमा खेलाउँदै बसेका थिए लालबाबु । ‘बस्नोस न, के खानुहुन्छ ?’ भित्र पस्नासाथ उनको प्रश्न थियो । ‘हैन हैन पर्दैन प्लिज’ भन्दै एउटा कुर्सीमा बसँे ।

एकैछिनमा बाहिरबाट मुसलधारे पानी परेको आवाज आयो । बाहिर गएका श्रीमती बिमला र छोरी रुझेर भित्र पसे । भिजेका लुगा नखोली बिमलाले लालबाबुतिर हेर्दै भनिन्– ‘आज तपाँईलाई केही भएको छ हो ?’ लालबाबु केही बोलेनन् । बिमलाले नै थप प्रष्टिकरण दिइन्– ‘उहाँलाई कति कुराले भित्रैदेखि दुखाइरहेकोे हुन्छ त्यो कुरा म अनुहारबाट थाहा पाउछु तर मलाई सुनाउनु हुन्न ।’ बल्ल लालबाबु मसिनो स्वरमा बोले– ‘एउटै कुराले किन दुबैजना दुख्नु भनेर नि ! फेरि तिमी सानो कुरामा पनि धेरै दुःखी हुन्छौ, कुराको किनारा लागेपछि त म भनिहाल्छु नि ।’

उनीहरुबीचको आपसी संवादको म दर्शक मात्रै थिएँ । ‘तपाइलाई उहाँको राम्रो लाग्ने कुरा चाही के नि ?’ बिमलालाई सोधेको प्रश्नमा उनले साधारण उत्तर दिइन्– ‘उहाँको साधारण भएर हिड्ने बानीले मलाई सबैभन्दा बढी छुन्छ । हेर्नुस् मन्त्री हुँदा पनि उहाँको शैली साधारण थियो । शक्तिमा हुँदा पनि कहिल्यै नराम्रो बाटोमा लाग्नु भएन यही कुराले मलाई उहाँ देउताजस्तो लाग्छ ।’ भर्खरै भिजेर आएकी बिमलाका लुगाबाट तर्किएको पानी बगेर निक्कै पर पुगिसकेको थियो । अनि उनी लुगा फेरेर आइन् ।

सबेलासम्म लालबाबुको खाना खाने बेला भइसकेको थियो । झर्के थालको छेउमा अलिकति मकैको भात त्यसको चारगुणा बढी फर्सीका मुन्टाको तरकारी, छेउको कचौरामा करेलाको तरकारी, एक अर्को कचौरामा दाल र सिसाको ग्लासमा मोही । उनको यो छाकको खाना त्यही थियो । खानुअघि सुइले भुँडीको छालामा सुई रोपेर इन्सुलिन लगाएपछि लालबाबुले ढिलो गरेर चम्चाले खाना खाए, थालमा सितो नछोडी ।

खाना खादै गर्दा लालबाबुसँग केही प्रश्नोत्तर भए, ‘बिवाहपछि कहाँ–कहाँ घुम्नुभयो दुबैजना ?’ पत्नीलाई सँगै लिएर एक पटक चिढीयाखाना गएका रहेछन् उनी । चिन्नेजति सबैले नेताज्यु भनेर नमस्कार गरेपछि त्यसरी घुम्न जानु उनलाई ज्यादै कठीन लाग्यो । ‘नमस्कार गर्दै मान्छे नजिक आउने अनि कसरी मैले उनलाई समय दिन सक्नु ? उनलाई नै दिक्क लाग्यो । अनि मैले कहिल्यै सँगै लिएर हिडीनँ । उनले पनि कहिलै गुनासो गरिनन् ।’

उनीहरुको हिजो र आजको समाज भिन्न फरक रहेको लालबाबुलाई लागेको रहेछ । ‘आजजस्तो हाम्रो बेलामा काहाँ थियो र ? माया त लाग्थ्यो तर, देखाउन सकिंदैनथ्यो । माया देखाउने कुरा पनि होइन’ लालबाबुले पत्नीलाई दिने समयबारे भने, ‘उनी कतै जनु पर्छ, छिटै आउनुस् है भन्छिन्, म आउन भ्याउँदिनँ । मलाई भरे गाली खानु पर्ने हो कि जस्तो लाग्छ । तर उनी गाली गर्दिनन् ।’

पतिपत्नीबीच एकअर्कालाई उपहार पनि खासै दिने गरेका छैनन् उनीहरुले । आजसम्म लालबाबुले केही कुरा बिमलालार्ई किनेर दिएका छैनन् । ‘केही किन्नु परे हामी दुबै जना जान्छौं’ लालबाबुले भने, ‘ठूलो सपिङ मल कहिलै गएका छैनौं । मेरा हरेक लुगा रेडीमेड हुन्छन् किनकि यसरी किन्दा सस्तो पर्छ ।’ उनले लगाइराखेको घ्यु कलरको लुगा फुटपाथमै किनेका रहेछन् । ‘सय–सय रुपैयाँ’ भनेर कराउँदै बेचेको ठाउँबाट २० वटा सर्ट एकैचोटी किनेका रहेछन् उनले । सर्ट देखाउँदै लालबाबुले भने– ‘यो मैले लगाएको सर्ट आठ बर्षअघि १२५ रुपैयामा किनेको हँु ।’

बिमलालाई लालबाबुको सरल स्वभाव मन परेजस्तै लालबाबुलाई बिमलाको हक्की स्वाभाव मनपर्छ । ‘भरे के हुन्छ भनेर कहिल्यै सोच्दिनन्, मनमा लागेको कुरा भन्दिहाल्छिन् । हक्की टाइपकी छिन् । उनको यो बानी मलाई साह्रै मनपर्छ’ लालबाबुले भने । कसैलाई केही दिनु परे उनी घर भित्रको सबै निकालेर दिन तयार हुन्छिन् । यो सबै देखेर एकजनाआफन्तले भनेछन् पनि– ‘यसले त डसना पनि काटेर दिन्छेहोला ।’ लालबाबुलाई श्रीमतीको माया पनि त्यसै बेला बढी लाग्छ रे उनी जव अरुलाई केही दिइरहेकी हुन्छिन् ।

उनीहरुबीच भिन्नता के छ ? अलि ठूलो स्वरले बोल्ने बिमला र बिस्तारै बोल्ने लालबाबु, अग्लो कदकी बिमला र होचो कदका लालबाबु, कालो बर्णका लालबाबु र गहुँगोरी बिमला । लालबाबु र बिमलाबीच यी देखिने भिन्नता हुन्, भित्र भने उनीहरु आफु दुरुस्तै रहेको वताउँछन् । हुनत सबैलाई आफ्नो श्रीमान इमान्दार लाग्ला तर मेरो श्रीमान त सबै दुनियाँले देख्नेगरी इमान्दार हुनुहुन्छ’ बिमलाले भनिन्, ‘जुन पदमा र जहाँ पुगे पनि हामी यही इमान्दारितामा रहन्छौं ।’

नचिनेका मान्छेले आएर लालबाबु पण्डित तपाई नै होइन ? तपाईंँग फोटो खिचौं भनेर टाँस्सिदा बिमलालाई आफ्ना श्रीमानप्रति गौरव लाग्ने रहेछ । ‘सासारका अघिल्तिर श्रीमान् हरेक दिन अभिनन्दित भएको देख्न पाउँदा श्रीमती खुसी हुँदैनन् त ?’ उनले प्रश्न गरिन्, ‘बिमलाको श्रीमान त भ्रष्टचारी हो नि भनेको सुन्नु परेको भए मेरो के जुनी हुन्थ्यो होला ?’

राजनीतिक विषयमा पनि कहिलेकाहीँ सुझाउँछिन् बिमला तर, हत्पती लालबाबु सुन्दैनन् ‘पहिले त्यति सुन्नुहुन्न, पछि मैले भनेजस्तै भएपछि हो त रैछ नि भनेर स्वीकार गर्नुहुन्छ’ बिमलाले भनिन् । बिमला कहिलेकाहीँ रोइन् भने लालबाबुलाई फकाउन चाहीँ आउँदैन रे । ‘लाज लागेको हो कि झैं लाग्छ । एउटा गीत छ नि ‘कहाँ थियौं तिमी रंगमञ्च उठेपछि आयौ, समयले जवानी यो लुटेपछि आयौ’ त्यस्तै हो हाम्रो जीवन’ बिमलाले भनिन् । जवानी छोडिएकोमा खिन्नता थियो बिमलामा । बिमलाको कुरालाई सम्याउन खोज्दै लालबाबुले भने– ‘बिबाह गर्दा हामी मेचुअड थियौं, त्यो रोमान्स गर्ने उमेर थिएन । त्यो भन्दा पनि ठूलो पार्टीको जिम्मेवारी थियो । राष्टिय आवश्यकतामा हिंड्दा प्राइभेट कुरा सुन्य हुन्छ त्यो स्वाभाबिकै हो । त्यो अहिले पनि छ । त्यसैले अरु कुरामा ध्यान गएन उनीहरुको ।

१५ बर्षमा उनीहरुको सन्तानको रुपमा एक छोरी साथमा छिन् । जो एसएलसी दिएर बसेकी छिन् । ‘बिवाहपछिको रमाइलो क्षण भन्दिनुस् न’ मैले बिमलालाई सोधेँ । उनले लालबाबुको मुखमा हेरेर हास्दै भनिन्– ‘के हुनु र त्यस्तो त केही छैन । अहिले आएर बरु उहँसँगै हिंड्दा सबैले लालबाबु भन्छन् खुसि लाग्छ । त्यो बेला त थाहा भएन अहिले पो माया बढेको छ ।’ यति भनेर उनी खुलेरै हासिन् ।

दाइ, दिदी र उनी तीन जना छोरा छोरीमा बिमला कान्छी छोरी । बुबाको पहिल्यै निधन भएकाले घरमा अप्ठेरो थियो । बुबा नभएपछि छिन्नभिन्न थियो उनको माइती । त्यही भएर बिबाहपछि पनि उनीहरुले माइती ससुराली भन्ने नै कहिल्यै जानेनन् । लालबाबु भन्छन्– ‘एक दिन गएर सुतेको छु ससुरालीमा ।’

उनलाई ललितपुर तिरका सबैले ज्वाइँसाब भनेर बोलाउँदा रहेछन् अनि उनी खुसी हुन्छन् । अलिकति हाँसेर भने, ‘मेरो त पार्टी नै ससुराली पार्टी नै घर भो’ । भुइामा विच्छ्याइएको राडी ११ बर्षअघि बिराटनगरमा तीन सयमा किनेका रैछन् लालबाबुले । ‘यही राडीले काम चलेको छ । अहिले साबुन पानी लगाएर धुन्छु । अझै पनि म साइकलमै हिंड्छु’ लालबाबुले भने ।

खाटमा छोरीलाई सुताएर भुइँमा सुत्दारहेछन् उनीहरु । ‘पाहुना आउँदा भुइभरी सुत्छांै । जे छ त्यसैमा त चलाउने हो नि हैन ? मन्त्री भएर पनि कमाएनछ भन्छन्’ बिमलाले भनिन् । बिमला भन्छिन्– पहिला भन्दा मन्त्री भएपछि झनै उहाँको चिन्ता बढेको छ । सधंै सार्बजनिक गाडीमा हिंड्नुहुन्छ । सुगरको बिमारी मान्छे गाडीमा पनि कसैले बस् भन्दैनन् । कति गारो हुन्छ त्यसैले सँगै हिंड्छु ।’

२०६२÷६३ को आन्दोलमा उनीहरु बिराटनगरमा दुबै जना जेल परेका रहेछन् । लालबाबु घरको कान्छो छोरा हुन् । आमा धेरै बृद्ध हुनुहुथ्यो । घरमा सबैले बिबाह गर्न दवाव दिन्थे । तर उनले मानेन् । उनी बिबाह नगर्ने पक्षमा थिए । उनले पार्टीबाट आएका धेरै प्रस्ताव अस्विकार गरेका थिए । उनि कोटेश्वरमा एक्लै घरमा डेरा बस्थे । यो २०५७ सालको कुरा हो । उनलाई एकै दिनमा ३८ पटक सम्म ट्वाईलेट जानु परेको थियो । डिसेन्ट्रीले झण्डै लगेथ्यो । उनलाई घरबेटीले स्याहार चाकर गरे । त्यो बेला मात्र उनलाई माया गर्ने कोही न कोही चाहिन्छ भन्ने लाग्यो ।

एउटा कार्यक्रममा गएका बेला लालबाबु र बिमलालाई पार्टीका सथीहरुले भेट गराए । त्यहीबेला साथीहरुबाटै बिबाह गर्ने प्रस्ताव आयो । अनि सबैको आग्रह अनुसार त्यही स्टेजमा उनीहरुको बिबाह भयो ।

बिमला भैंसेपाटीमा चार नम्बर वडाको वडा अध्यक्ष थिइन् । उनीहरुको बिहे गराइदिने लमी सुशीला नेपाल र अष्टलक्ष्मी शाक्य हुन् । त्यसअघिसम्म बिमलालाई आफूभन्दा होचो मान्छेसँग बिहे गर्न मन लागेको थिएन । ‘तर लेखेकै हुने रहेछ आखिरीमा आफूभन्दा होचै मान्छेसँग बिहे भयो’ बिमलाले भनिन्, ‘शारीरिक कद होचो भएर के भो, पछि त उहाँ जत्ति अग्लो कोही लाग्न छोड्यो ।’

लालबाबुको जन्मथलोसर्लाही हो । चुनाव आउँदा बिमला पार्टीको प्रचार गर्न सर्लाही जान्थिन् भने लालबाबु बिराटनगर । उनीलाई सर्लाहीमा पनि त्यत्तिकै माया माया गर्छन् । ‘मेरो जन्मगाउँमा पहाडी समयुदायको एउटा पनि घर छैन तर, त्यहाँ उनी (बिमला) जति प्यारो कोही हुन्न’ लालबाबुले भने ।

लालबबुले अहिलेसम्म हलमा गएर फिल्म हेरेका छैनन् । ‘फिल्म हेर्ने न समय भयो न त त्यता मन नै गयो’ उनी भन्छन्,‘फिल्म हेरेको सिडीमा मात्र हो । अहिले मेरो घरमा एउटा टेलिभिजन त छैन ।’

थाहा पाउने उमेरदेखि नै राजनीतिक कुराले छोए पनि लालबाबुलाई आफू राजनीतिमै लाग्छु भन्ने थिएन । उनी मेकानिकल इन्जिनियर हुन् । मेकानिकल इन्जिनियर लालबाबु सामान्यप्रशासन मन्त्री हुँदा गरेका कामले स्याबासी पाउने नेतामा गनिन पुगे । ‘लालबाबु काम गर्ने मान्छे हो भन्ने सबैले ठानेका छन् यसमा म खुसी छु’ आफ्नो काममाथि सन्तुष्टि पनि जनाए उनले । लालबाबुको जीवन ४० वर्ष डेरामा वितेको छ ।

YOUR REACTION?

Facebook Conversations