साउनको महिना । सिमसिमे पानी । साउन ४ गते । (अंग्रेजी महिना जुलाई १९ , २०१६ ) विहानैको मौसम चिसो–चिसो । मर्निङ वाकका लागि विहानै सवा पाँचवजे पशुपति पगिसकेकी थिए म । त्यहाँ झण्डै आधाघण्टा व्याटमिन्टन खेलेर घर फर्कदै थिए । सिमसिम पानी परिरहेको थियो । छाता थियो साथमा । सानो गौचरणको ओरालोमा रहेको सानौ गौचरण आयल स्टोरको अपोजिटमा रहेको सानो चिया पसल ।

भूकम्पमा घर भत्किएपछि त्यहाँ  डेरा गरेर बसेकी लगभग ५५–६०  वर्षकी आमैको चिया पसल  छ । त्यहाँ विहान–विहान खुब मिठो र  सफा तरिकाले ती आमैको हातबाट बनेको  आलु र प्याजका पकौडा खान पाइन्छ । सातबजेसम्म  पाकिसकेको हुन्थ्यो पकौडा ।

म त्यहि बाटोमा आउँदै थिए । सीमसीमे पानीले भिजेकी एक अर्धबैसे युवती  हाफ टिर्शट र कालो पाइन्टमा  मन्द मुस्कान सहित बसेकी थिइन्  । लाग्थ्यो मलाई देखेर कोही सहयोगी आयो या यसले चिया खुवाउँछ यातफेरि उसले चुरोट खुवाउँछ भन्ने जस्ता भाव मुहारमा देखिन्थ्यो ।  (हे.तस्बिर)

म त्यो बाटो धेरैपटक हिडेकी थिए । तर ती  महिलालाई  पहिलो पटक त्यस्तो अवस्थामा देखेकी थिए । नजदिकमा पुग्दा दिदीको शरिरबाट पिसाबको गन्ध र  मुखबाट रक्सिको वासना आएको थियो । लाग्यो खल्तिमा भएको पैसा निकालेर दिउँ,  होइन, पैसा दियो भने दिदीले  रक्सि खालिन् । होइन,  बिहानी पानी परेको चिसो–चिसो छ  चिया नै खुवाउँछु । त्यहि आमैको पसलमा पुगेर एक कप चिया मागे ।  अनि पकौडा पनि मागे ।   ती दिदीलाई भित्रै राखेर चिया खुवाउँछु भनेर भित्र लगेकी थिए । तर, ती आमै  र त्यहाँ वरपरका स्थानीयहरु  ती दिदीको व्वयहारले आजित भएका रहेछन् । आमैले भनिन् “मैया यसलाई नल्याउनुस यता,  जहाँ खायो त्यहि पिसाब गरेर हिड्छ  यसले ।  म त बस्न दिन्न भित्र ।”
सोचे मनमा फोहोर र बाहिर सफा खोज्ने  समाज यस्तै हो । यहाँ दुःखी र गरिवले कस्को  घरमा बास  पाउछ । अनि  ती दिदीलाई बन्द रहेको सटरको पेटीमा राखे । दिदीले चिया र पकौडा खाइन् ।

पसलकी आमैसँग कापीको पाना र कलम मागेर अनि सुरु गरे । कसरी सडकमा आउनु भयो दिदी ?

दिदीले भन्दै गईन्

नाम कन्चन शर्मा रेग्मी

घर टिकाथली

उमेर ४५ वर्ष

श्रीमान मोहन रेग्मी

छोराहरु दिपेन्द्र रेग्मी, सागर रेग्मी

३ जना नै इन्जिनियर

२०४७ असार ३ गते विहे भएको ।

व्याचलर पिके कलेजबाट

तीनवर्ष ओम नर्सिङ कलेज चावहिलमा पढेको (२०५३÷०५४ ÷०५५) ओम अस्पतालमा साढे चारवर्ष काम गरेको जनरल वार्डमा  नर्सका रुपमा ।
भिनाजु  डाक्टर भद्र पोखरेल

जेठी दिदी निर्मला पोखरेल फोन नं  ४७७०४१७)

श्रीमानसँग १९ वर्ष विताएको ।

छोड्नुका कारण–बांगो  र टेढो शरीर

अर्को विवाह गरिसकेका छन् ।

गीत
साझ प¥यो  तर तिमी आएनौ
रोएरै  मेरा रात विते तर तिमी आएनौं ।

कन्चनले भन्दै गइन्, मैले टिप्दै गरे ।

कान्छो छोरा पुल्चोकमा पढ्छ । जेठो बेंगलोरमा पढ्दै छ ।

दाजुभाइ, अशोक शर्मा, क्यालिफोर्निया, सुवास शर्मा साइला भाइ, वासिङ्टन डिसी,

आमा विराटनगर बयरगाँछी । आउ बस त भन्नु हुन्छ । तर, भाइ बुहारी छन घरमा त्यस्तै त होनी, जान्न । (हे.तस्बिर)
काम गरेर पनि त बाँच्न सक्नुहुन्थ्यो नी किन यस्तो गर्नु भएको ?

काम कसैले दिएनन्,  मोडेल अस्पतालमा डा. भरत प्रधानसँग जब चाहिएको छ भने,  उहाँले जुम्ला जाउँ भन्नु भयो । तर, म गइन् ।

मलाई १ सय दिनुस् म श्रीमानको घर टिकाथलीमा जान्छु ।

साच्चै जानुहुन्छ त ? तपाइ जानुहुन्न ।

होइन जान्छु । मेरो घरको नम्बर यो हो फोन गर्नुस् है ।  कन्चनले फोन नं अनि  श्रीमानको नाम आफै टिपिदिइन् । (हे.तस्बिर)


पहिले पसलकी आमैको कुराबाट कन्चन दिदी धेरै भो सडकमा हिड्न थालेको थाहा पाएकी मैले, १ सय हातमा त राखिदिए  तर, घरजान दिइन् ।  दिदी फेरि अगाडि बढीन् ।  मलाई त्यतिबेला दिक्षाको सम्झना आयो । दिक्षाको संस्थामा म एकपटक पनि पुगेको छैन र नजदिकबाट उनलाई चिनेको भनेको  कहिलेकाँही एनआरएनएहरुको सम्मेलनमा बच्चाहरु लिएर सोल्टी होटल र आर्मि क्लवका कार्यक्रममा पुगेका बेला प्रत्यक्ष देख्ने बाहेक, अरु सामाजिक सन्जाल फेसबुकमा उनले गरेका परोपकारी कामहरुको बारेमा जानकार थिए । र सम्झना थियो  दिक्षाको परोपकारी कामको जानकारीका साथै तल  पुछारमा  मोबाइल नम्बर पनि हुन्छ सधै । त्यो अहिले पनि छ ।

म सँग दिक्षाको नम्बर मोबाइलमा सेभ थिएन ।  तर, अफिसमा फोन गरेर अफिसमै बस्ने फर्शुराम भुर्तेल भाइलाई दिक्षाको नम्बर  फेसबुकबाट निकालेर दिन  अनुरोध गरे ।

उहाँले १० मिनेटमै  फोन नम्बर दिनु भयो ।

हेलो दिक्षा जी कता हुनुहुन्छ ?

म चन्दा थापा, बोल्दैछु ।

भन्नुस् न,

सुन्नु न एकजना नर्स दिदी बाटोमा  हुनुहुन्छ  । मेन्टली प्रोबलम भएजस्तो पनि छ । तपाइकोमा लगेर राखेर  केही काउन्सीलिङ गरिदिनुहुन्छ की ?  दिदीलाई राम्रो बनाउन सकियो भने भोली दिदीले समाजको लागि केही गर्छिन की !

हुन्छ, कहाँनेर हो ?  म आउँछु एकछिन टाइम लाग्छ ।

वास्तवमा मलाई  विहानको साढे सात बजे  स्कुल जाने भदाको लागि साढे ६ बजे नै दुध लिएर घर पुग्नु पर्दथ्यो । घरमा फोन गरेर अलि ढिलो हुन्छ है भनेर म  कन्चन दिदीलाई दिक्षाको साथमा लगाएर  पठाउने अठोटले नै साढे ६ बजेदेखि झण्डै पौने नौ बजेसम्म  त्यहि बसे ।

म र कन्चन दिदी ग्लोवल बैंकको पेटीमा थियौं ।

पहिलो आमैको कलम र कापी  छोडी सकेको हुनाले  फेरि ग्लोवल  बैंकका गार्डसँग कलम मागेर टिपे । दिदीले  मिठो गीत पनि गाइन् ।

एउटा, आनि छोइङको  गीत “फूलको आँखामा फूलै संसार” अर्को हरफ

यो जिन्दगी खै के जिन्दगी
हिड्दा हिड्दै चुड्ने
चप्पलको फिताजस्तो जिन्दगी

दिदीले भावुक कुरा गरिन् ।

अनि कान्छी औला ठड्याउँदै  पिसाब लागेको भनेर हिड्न थालिन्, आइ हाल्छु भन्दै । म सँगसँगै गए । दिदीलाई चुरोट खान मन लागेको रहेछ ।  उनले चुरोट माग्न पसलमा पुगिन् । तर, ती पसलकी दिदीले “ उता जा,  आइज त मात्रै ।”  मैले बुझी हाले,  अनि आफै खुकुरी चुरोट  किनिदिए । सल्काउन लाइटर मागे । अनि दिक्षाकोमा जाँदा केटाकेटीलाई दिनु भनेर झण्डै ७०–८० रुपैयाँको चक्लेट पनि किनिदिएर हातमा राखिदिए । दिदीले चुरोट तान्न थालिन् मैले फोटो खिचे (हे. तस्बिर) 
फेरि दिदीलाई ग्लोवल बैंकको पेटीमा लिएर बसे ।  अनि दिक्षा आइन ट्याक्सीमा चढेर । लागेको थियो । उनी स्कुटरमा आउँछीन् ।   दिक्षा नजिक आइन् ।  हाम्रो हल्का परिचय  नविकरण भयो फेरि  । उनलाई दिदीको कुरा बताए । अनि दिक्षाले उनलाई ग्लोवल बैंकको पेटीमुनि बस्न लगाएर फोटो खिचिन् ।  दिक्षा र मैले कन्चन दिदीलाई बिचमा राखेर फोटो पनि खिच्यौं ।

(हे. तस्बिर)

अनि, अब मसँग गएर बस्ने भनेर लिएर गइन्  दिक्षाले। दिक्षाले ट्याक्सी चढ्ने बेलामा भनेकी थिइन् “ मसँग त ट्याक्सीमा जाने पैसा पनि छैन् ।” मैले म सँग छ भनेर  २५० जति थियो होला सायद  दिए । धापासीमा रहेको  दिक्षाको संस्थामा पुग्न त्यतिले पुग्ने थिएन सायद । मैले “तपाइको पनि सोसियल कन्ट्रीव्युसन होस् है भाइ”  भनेपछि  ट्याक्सी ड्राइभर भाइले टाउको हलाउँदै  हुन्छ भने ।  सायद बाटोमा उद्धार गर्न लागिएकी कन्चन दिदीको अनुहार देखेर आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्ने निर्णय लिए उनले पनि ।  अनि  मैले दिदीलाई नजदिक आउँदै गरेको तिजमा रातो सारी लिएर आउने बाचा  गरेर  ट्याक्सीमा चढाइदिए ।

ट्याक्सी सानो गौचरण हुँदै धापासी तिर लाग्यो । म  कन्चन दिदीको  सुखद जीवनको कामना गर्दै ब्याटमिन्टनको झोला पिठ्युतिर भिरेर घरतिर लागे ।
अफिसमा आएर दैनिकी सुरु भयो ।  त्यतिबेला खासै  मिति  नलेखे पनि । आउने दिनै फेसबुकमा  कन्चन दिदीले भनेको शब्द

यो जिन्दगी खै के जिन्दगी
हिड्दा हिड्दै चुड्ने
चप्पलको फिताजस्तो जिन्दगी-

लेखेर कथा पछि लेख्ुछ भनेर स्टाटस राखेकी थिए ।  त्यो दिन  साउन ८ गते ( २१ जुलाई २०१६) रहेछ ।

कन्चन दिदी  दिक्षाकोमा पुगेको सायद १५–२० दिन पुगेको थियो की, दिदी  त्यहाँबाट हिडिन् भनेर दिक्षाले फोन गरिन् । “दिदी कतै देख्नु भएको थियो की कन्चन दिदीलाई, मैले उनको श्रीमानसँग कुरा गरेकी छु त्यो दिदीलाई कहाँ भेट्ने होला ?” मैले खोइ दिक्षा देखिन् नी भनेकी थिए । पछि दिक्षाले  “कन्चन दिदीले बहिनी म यहाँ छु भनेर फोन गरेपछि लिएर आए भनेर  तस्बिर फेसबुकमा राखेकी थिईन् ।

कथा लेख्छु भन्दा  थिए, तर, समाजसेवी दिक्षाको  संस्थामा पुगेकी दिदीको दैनिकी हेर्दै  जानकारी लिए  ।  कथा लेख्न त्यति आवस्यक पनि ठानिन् । दिदी सुरक्षित तरिकाले बसेको दिक्षाले अपडेट गरेको फोटोबाट थाहा हुन्थ्यो ।

तर, एक्कासी दिदीलाई कान्तिपुरमा  सुमनसँग देख्दा पो झसंग भए । दिदी त कान्तिपुरमा इन्टरभ्यु दिने भइसक्नु भएछ भनेर ।
इन्टरभ्यु सबै हेरे । सुने ।  राम्रै लाग्यो दिदीको  कुरा । तर, एउटा कुरामा चित्त बुझेन् “ दिदीले  म बसेको अगाडिबाट प्रधानमन्त्रीको गाडी हिड्यो, थुप्रै समाजसेवी हिडे, तर कसैले देखेन् । दिक्षाले फोहोरको थुप्रोबाट आमा भन्दै उठाएर पवित्र समाजमा ल्याइन् ।”

हो, दिक्षाले फोहोरको थुप्रोबाट  कलेजमा पढाउने प्रोफेसर लगायतका  धेरै पीडितको उद्धार गरेर धेरैको  सेवा गरेको कुरो बाहिर आएको थियो ।  झण्डै १० वर्ष देखि मैले पनि दिक्षाका गतिबिधि हेर्दै थिए ।  कहिले काँही सोच्न बाध्य हुन्थे । दिक्षालाई लाज घिन केही लाग्दैन् । मानब भएर जन्मिएको यो धर्तिमा मानवियता बुझेकी छन् उनले  अनि निरन्तर सेवामा लागिरहेकी छन् ।

यसको वास्तविकता दिक्षालाई नै थाहा होला  उनको पवित्र सेवाको पुष्ट्याइ गर्ने जिम्मा उनकै हो । मलाई  दिक्षाका बारेमा केही भन्नु छैन् । मैले दिक्षालाई यो भन्दा बढी केही पनि  चिन्दीन् ।  तर, मैले  सबैलाई भन्नै पर्छ कन्चन दिदी दिक्षाकोमा जानुभन्दा पहिले फोहोरको डंगुरमा  नभएर सफा सडकको पेटीमा थिइन् । त्यहिबाट उद्धार गरिएको हो ।

अहिले दिक्षाका शुभचिन्तकहरुले दिक्षाले कन्चनलाई यो रुपमा पुलमुनिबाट उद्धार गरेको र पानी खुवाइदिएको  भनेर अर्कै फोटो राखेर प्रचार गरिएको छ । मलाई लाग्छ कन्चन दिदी घर छोडेदेखि  कहिल्यै पनि त्यस्तो रुपमा देखा परिनन् होला  नत उनी   पशुपतिको चिता नै तापिन् ।  यदि चिता तापेकी थिइन् भने मैले जसरी कन्चन दिदीलाई देखे त्यस्तै अरुले पनि चिता तापेको देखेका होलान् । ती कुराहरु विस्तारै आउँनेछन् ।

एउटा राम्रो कुरा कन्चन दिदीमा अहिले देखिएको परिवर्तन शरीर सफा र राम्रा कपडा देखे । कुरा पनि त्यहि छन्, जुन मलाई पनि भनेकी थिइन् । तर, त्यो मनमा कसरी ( फोहोरको डंगुर)बाट उठाएको बनावटी झुट कुरा आए भनेर म आफै अन्योलमा छु ।  “दिदी कसले सिकायो यस्तो झुटो बोल्न, वा फेरि फोहोरमा लगेर फोटो खिचियो  कसैबाट ? ”

समाजसेवी दिक्षाहरुका प्रयत्न र  अभ्यास कति  पवित्र र  निष्ठावान होलान वा  कति प्रचारमुखी होलान् ती आफ्नै ठाउँमा छ ।  राज्यले  सडकमा पुगेका  बेशाहारा, अशक्त,  मानसिक असन्तुलन भएकाहरु,  बालक,  बयस्क र वृद्धबृद्धाहरुको उचित संरक्षण र जिम्मेवारी  नलिएसम्म  यस्तै  घटनाहरु आइरहन्छन्,  कन्चनका कथाहरु  दोहोरिरहन्छन् ।-   चन्दा थापा 

YOUR REACTION?

Facebook Conversations